महागाथा: अध्याय १ — नियतिको क्रूर खेल
के तपाईँ भाग्यमा विश्वास गर्नुहुन्छ? के तपाईँलाई लाग्छ कि तपाईँको जीवनको हरेक आँसु र हरेक मुस्कान कुनै अदृश्य शक्तिले पहिल्यै कोरिसकेको छ? धेरैलाई लाग्छ हामी आफ्ना निर्णयका मालिक हौँ, तर समयले प्रमाणित गरिदिन्छ कि हामी त केवल नियतिका गोटी मात्र हौँ।
हाम्रो बितेको हरेक पलले आउने भोलिको सङ्केत दिइरहेको हुन्छ, तर हामी त्यसलाई चिन्न सक्दैनौँ। यो कथा त्यही नियतिको हो, जसले नील वायुपुत्रलाई एक ऐश्वर्यशाली युवराजबाट रगत र पसिनाले नुहाएको दास बनायो; र पछि, त्यही दासलाई यस युगकै सबैभन्दा भयानक युद्धको सर्वशक्तिमान योद्धा। तर यो रूपान्तरणको मूल्य के थियो?
आजभन्दा करिब १२ सय वर्ष पहिले, जब सप्तसिन्धुको उत्तरी क्षेत्रमा हिमालको काखमा एउटा राज्य मुस्कुराउँथ्यो— सुन्दर नगर। नाम जस्तै यो राज्य कला, संस्कृति र धनधान्यले भरिपूर्ण थियो। यहाँका जनतालाई अभाव के हो थाहा थिएन। तर इतिहास साक्षी छ, जहाँ बढी उज्यालो हुन्छ, त्यहाँ अँध्यारोको नजर छिट्टै पर्छ।
एक औँसीको रात, आकाशबाट आगोका गोलाहरू बर्सेजस्तै गरी हजारौँ राक्षसहरूको फौजले सुन्दर नगरको किल्ला भत्कायो। चारैतिर हाहाकार र चित्कार फैलियो। जब विनाश निश्चित देखिन्थ्यो, तब युद्धभूमिको बीचमा एक दिव्य प्रकाश फैलियो। जटाधारी, आँखामा ब्रह्माण्डीय तेज भएका ऋषि भृगु प्रकट हुनुभयो। उहाँले आफ्नो कमण्डलुबाट जल छर्कँदै 'श्वेत अग्नि'को आह्वान गर्नुभयो, जसले क्षणभरमै दानवी सेनालाई खरानी बनाइदियो।
प्रस्थान गर्नुअघि ऋषिले राजालाई एउटा बाकस सुम्पिँदै भन्नुभयो:
"राजन्, यो लडाइँ त सकियो, तर असली युद्ध त मानिसभित्र लुकेको लोभ र डाहसँग हुनेछ। यसमा दुईवटा दिव्य औषधीय चक्की र यो 'जीवनका सूत्र' नामक पुस्तक छ। जसले यसको मर्म बुझेर आफ्नो कुण्डलिनी शक्ति जागृत गर्नेछ, उही यो धर्तीको अन्तिम रक्षक बन्नेछ। तर याद राख, यो पुस्तक गलत हातमा परे यसले महाविनाश पनि ल्याउन सक्छ।"
पुस्ताहरू बिते, तर त्यो पुस्तकको रहस्य कसैले खोल्न सकेनन्। राजा वीरेन्द्र वायुपुत्र एक न्यायप्रेमी शासक थिए। उनी सधैँ भन्थे, "शक्ति अरूलाई थिच्न होइन, बचाउन प्रयोग गरिनुपर्छ।" तर उनका सौतेनी भाइहरू, यजुवेन्द्र र नागेन्द्रको मनमा भने अर्कै आगो बलिरहेको थियो।
एक साँझ दरबारको गोप्य कक्षमा नागेन्द्रले कानेखुसी गर्यो, "दाइ, वीरेन्द्रले हामीलाई सधैँ छायामा राख्यो। त्यो दिव्य पुस्तक र सिंहासन दुवै हाम्रा हुनुपर्छ। के तपाईँ अझै उसको पाउ मोल्न चाहनुहुन्छ?"
यजुवेन्द्रको आँखामा लोभ झल्कियो, "धैर्य गर नागेन्द्र, विषले आफ्नो काम गर्न समय लिन्छ, तर त्यसले ज्यान नलिई छोड्दैन।"
राजा वीरेन्द्रका छोरा, नील वायुपुत्र, सामान्य बालक थिएनन्। उनी ९ वर्षकै उमेरमा गम्भीर र चिन्तनशील थिए। उनको घुम्रिएको छोटो कपाल र तीखो नाकले उनलाई एक विशेष व्यक्तित्व दिन्थ्यो। जब उनी १३ वर्षका भए, उनले ध्यानको माध्यमबाट आफ्नो पहिलो चक्र— मूलाधार चक्र—मा विजय प्राप्त गरिसकेका थिए। उनलाई देख्नेहरू भन्थे, "सुन्दर नगरको भविष्य सुरक्षित छ।"
एक रात, दरबारमा सन्नाटा छाएको थियो। अचानक नीललाई आफ्नो बुबाको कक्षबाट केही खसखस आवाज आयो। उनी दौडिँदै भित्र पसे। त्यहाँको दृश्य देख्दा उनको खुट्टा मुनिबाट जमिन खस्कियो। महाराज वीरेन्द्र भुइँमा पछारिएका थिए, उनको शरीर नीलो भइसकेको थियो र मुखबाट फिँज निस्किरहेको थियो।
"पिताजी!" नील चिच्याउँदै उहाँको टाउको आफ्नो काखमा राख्यो।
महाराजले काँपेको हातले नीलको गाला सुम्सुम्याए। उहाँको आवाजमा अन्तिम साश मात्र बाँकी थियो। "नील... मेरो समय सकियो। भन... के तिमीले त्यो 'जीवनका सूत्र' को रहस्य बुझ्न थाल्यौ?"
नीलले रुँदै भन्यो, "मलाई पुस्तक चाहिँदैन पिताजी, म वैद्यलाई बोलाउँछु, तपाईँलाई केही हुन दिन्नँ!"
"होइन नील!" महाराजले खोक्दै भन्नुभयो, "सुन्न... मानिसहरूले तिमीलाई कमजोर पार्नेछन्, तर याद राख... मानवता नै परम धर्म हो। बदलाको आगोले आफूलाई नजलाउनु... तिमी... तिमी नै हाम्रो अन्तिम आशा हौ..."
त्यही शब्दसँगै महाराजको हात भुइँमा खस्यो। सुन्दर नगरको सूर्य अस्तायो।
त्यही क्षण ढोका ढ्याप्प खुल्यो। यजुवेन्द्र र नागेन्द्र हतियारधारी सैनिकहरूसहित भित्र पसे। "यो के गरेको नील? आफ्नै पितालाई विष दियौ?" यजुवेन्द्रले झुटो आरोप लगायो।
"होइन! काका, तपाईँहरूले के भन्दै हुनुहुन्छ? उहाँलाई त कसैले षड्यन्त्रपूर्वक..." नीलको वाक्य पूरा हुन नपाउँदै नागेन्द्रले उसको गालामा एक जोडदार मुक्का हान्यो।
"चूप लाग्!" नागेन्द्र गर्जियो, "आजदेखि तँ यो राज्यको राजकुमार होइनस्, तँ एक अपराधी र हाम्रो दास होस्। लैजाऊ यसलाई कालकोठरीमा!"
तीन वर्ष बित्यो। नील अब १६ वर्षको जवान भइसकेको थियो, तर उसको शरीरमा राजकुमारको कोमलता होइन, अनगिन्ती चोटका नीलडामहरू थिए। उसलाई 'प्रशिक्षण सहायक' को अपमानजनक काम दिइएको थियो, जहाँ उसले सिपाहीहरूको प्रहार सहनुपर्थ्यो।
युद्धमैदानमा नयाँ सिपाहीहरूले अभ्यास गर्थे। नीललाई एउटा काठको खम्बाजस्तै उभ्याइन्थ्यो। एक मोटो सिपाहीले नीलको पेटमा कडा लात हान्दै भन्यो, "के भयो राजकुमार? एउटा मुक्का पनि थाम्न सक्दैनौ? अझै बलियो होऊ, नत्र हाम्रो अभ्यास कसरी हुन्छ?"
नील भुइँमा पछारिए, रगत थुके, तर केही बोलेनन्। उनलाई जवाफी हमला गर्ने अनुमति थिएन। यदि उनले हात उठाए, उनलाई झन् कडा यातना दिइन्थ्यो।
त्यो रात, कारागारको चिसो र ओसिलो कोठामा नील एक्लै थिए। एउटा सानो दियो जलिरहेको थियो, जसको उज्यालोमा उनले लुकाएर राखेको त्यो 'जीवनका सूत्र' पुस्तक खोलिएको थियो। तीन वर्षको अपमानले उनको बुबाको त्यो 'मानवता' प्रतिको सोचलाई पूर्ण रूपमा बदलिदिएको थियो।
उनले आफ्नो हातको मुठ्ठी कसे र पुस्तकका पानाहरू पल्टाउँदै आफैँसँग संवाद गरे: "पिताजी, तपाईँले भन्नुभयो मानवता नै परम धर्म हो। तर यही मानवताले तपाईँलाई मार्यो र मलाई दास बनायो। यदि तपाईँ दयालु नभएर कठोर शासक भइदिनुभएको भए, आज यी दुष्टहरूको हिम्मत हुने थिएन।"
उनले दियोको ज्वालामा आफ्नो हात राखे, तर उनलाई दुखाइ महसुस भएन। "आज म यो रगत र आँसुलाई साक्षी राखेर प्रतिज्ञा गर्छु— म यो कैदबाट निस्कनेछु। म मेरा पिताका हत्याराहरूको वंश विनाश गर्नेछु। अब मेरो धर्म मानवता होइन, प्रतिशोध हुनेछ। म उनीहरूलाई यस्तो नरक देखाउनेछु, जुन यमराजले पनि सोचेका छैनन् होला।"
जब नीलले यो प्रतिज्ञा गरे, उनको शरीरमा एक अज्ञात ऊर्जाको सञ्चार भयो। पुस्तकको एउटा रहस्यमय अक्षर चम्कन थाल्यो।
के नीलले आफ्नो कुण्डलिनीको दोस्रो चक्र जागृत गर्न सक्लान्?
भृगु ऋषिको त्यो दिव्य औषधि कहाँ लुकाइएको छ?
के सुन्दर नगरको यो दासले पूरै साम्राज्यलाई घुँडा टेकाउन सक्ला?
(क्रमश: अर्को भागमा...)
